बेलायतमा अभिनेत्री मनिषा कोइराला विशेष समारोहमा सम्मानित
काठमाडौं । कात्तिक १२, अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवन हाउस अफ कमन्समा आयोजित समारोहमा सम्मानित भएकी छन् ।
बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले विशेष समारोहमा कोइरालालाई सम्मान प्रदान गरेको हो । बेलायतको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फतिमा पटेलले उक्त सम्मान प्रदान गरे ।
फिल्म, कला र सामाजिक सेवामा उल्लेखनीय योगदानका लागि मनिषालाई उक्त सम्मान प्रदान गरिएको अखबारले जनाएको छ ।
बेलायतको दक्षिण एसियाली समुदायबीच लोकप्रिय उक्त अखबारलाई निःशुल्क वितरण गर्ने गरिन्छ । सम्मान ग्रहण गरेलगत्तै मनिषाले सामाजिक सञ्जालबाट तस्वीर सेयर गर्दै सम्मानित हुन पाउँदा खुसी लागेको बताएकी छन् ।
नेपालमा परिवार र पूर्वराजा ज्ञानेन्द्र शाहसँग दशैंको टीका लगाएपछि उनी सम्मान ग्रहणका लागि बेलायत प्रस्थान गरेकी थिइन् ।