देवघाटका सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु
काठमाडौं । कात्तिक १३, देवघाटका सामुदायिक वनमा बाँदरका लागि फलफूल खेती सुरु गरिएको छ ।
बाँदरले खेतीबाली खाएर हैरान बनाएपछि देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक वनले जङ्गलमा फलफूलका बिरुवा रोप्न थालेको हो ।
जङ्गलमा आहारा मासिँदै गएपछि बाँदरले बस्तीमा छिरेर बाली नष्ट गर्न थालेपछि जङ्गलमा फलफूल खेती थालिएको चक्रवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए ।
१० कट्ठा क्षेत्रफलमा लिचिका ७० र आँपका ८० वटा बिरुवा रोपेको उनले बताए । यसलाई विस्तार गर्दै लैजाने योजना रहेको गुरुङले बताए ।
देवघाट क्षेत्रमा कमलादेवी सामुदायिक वन, सुन झाँक्री सामुदायिक वन, गणदेवी सामुदायिक वन, साँडेबर सामुदायिक वन, देउती सामुदायिक वन, मधु सामुदायिक वन, चक्रवर्ती सामुदायिक वन, बगली सामुदायिक वन, चौकीडाँडा सामुदायिक वनलगायतका ११ वटा सामुदायिक वन छन् ।
यी वनमा चार हजारको हाराहारीमा बाँदर रहेको अनुमान गरिएको छ । यी बाँदरलाई गाउँ पस्न नदिनका लागि वनमा फलफूलको बिरुवा रोप्नुपर्ने गुरुङको भनाइ छ ।
एक दशकदेखि देवघाट क्षेत्रमा बाँदरले हैरान बनाउँदै आएको छ । बाँदरको त्रास बढ्दै गएकाले यहाँका बाँदरलाई व्यवस्थापन गर्ने विषयमा क्षेत्र विकास समिति र सम्बन्धित निकायले चासो दिनुपर्ने स्थानीय बताउँछन् ।
यहाँका केही बाँदरलाई दुई वर्षअघि अन्यत्रै स्थानान्तरण गर्ने प्रयास गरिएको थियो । त्यसपछि बाँदरमैत्री पार्क निर्माण गर्ने योजनासमेत बनेको थियो । तर, सफल भएको थिएन ।