विश्वकपमा १० वर्षपछि पुन छनोट भएपछि मैदानमा खुशियाली साटासाट
काठमाडौं । कात्तिक १७, युएईलाई हराउँदै सन् २०२४ मा अमेरिका र वेष्ट इन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटमा छनोट भएपछि नेपाली खेलाडीले शुक्रबार मूलपानी मैदानमा खुशियाली साटासाट गरे ।
युएईले दिएको १३५ रनको लक्ष्य १७.१ ओभरमा दुई विकेट गुमाएर भेट्टाएपछि नेपाल विश्वकपमा छनोट भएको थियो । यस अघि सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकप खेलेको नेपाल १० वर्षपछि पुन विश्वकपमा छनोट भएको हो ।
नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट भएको हो । यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेले पनि त्यसपछि छनोट हुन सकेको थिएन ।
अब नेपालले टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा पर्सि आइतवार ओमानसँग कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । फाइनल खेल बिहान ११ बजे शुरु हुनेछ ।
विश्वकपमा छनोट भएपछि खेलाडीहरुले मूलपानी मैदानलाई ढोगेका छन् । कप्तान रोहित पौडेल, करण केसी, सोमपाल कामीलगायतका खेलाडीले मैदानलाई ढोगेका थिए ।