जाजरकोट भूकम्पमा क्षति पुगेका घरधुरीको संख्या सार्वजनिक

सहयात्रा टिभी

काठमाडौँ । कातिक १९, गृहमन्त्रालयले जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा क्षति पुगेका घरधुरीको संख्या सार्वजनिक गरेको छ ।

गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सार्वजनिक गरेको विवरणअनुसार अहिलेसम्म ९३७ घरमा पूर्ण क्षति र २,९५४ वटा घरमा आंशिक क्षति भएको छ ।

त्यसमध्ये जाजरकोटमा सबभन्दा बढी ९०५ वटा घर पूर्णरूपमा क्षति भएको छ । त्यस्तै २६८५ घरमा आंशिक क्षति भएको छ । रुकुम पश्चिमको विवरण भने हालसम्म सार्वजनिक गरेको छैन ।

त्यस्तै रुकुम पूर्वमा ५ वटा घरमा पूर्ण क्षति र ११८ घरमा आंशिक क्षति भएको छ ।

सल्यानमा ९७, प्युठानमा २९, रोल्पामा १७, दाङमा ६, नवलपरासी पूर्व र दैलेखमा १÷१ घर क्षतिग्रस्त भएका छन् । यस्तै सल्यानमा २५, दैलेख र बैतडीमा १/१ घर क्षतिग्रस्त भएका छन् ।

गृहमन्त्रालयका अनुसार जाजरकोटमा १०५ र रुकुममा ५२ जनाको मृत्यु भएको छ । यस्तै घाइते २५६ जनामध्ये जाजरकोटका ११२, रुकुमका १३२, सल्यानका २, रोल्पाका १ र दैलेख, बैतडी, जुम्लामा ३/३ जना घाइते भएका छन् ।

क्षतिको विवरण संकलन भइरहेकाले यो क्षतिग्रस्त संरचनाको संख्या अझै बढ्न सक्ने मन्त्रालयको भनाइ छ ।

सरकारले उद्धार कार्यका लागि सशस्त्र प्रहरी बलका ४८५ जना, नेपाल प्रहरीका ८७४ जना र नेपाली सेनाका २०२ जना परितालन गरिएका छन् ।

गृहमन्त्रालयले जिल्लाहरूबाट विस्तृत विवरण आउने क्रम जारी रहेको जनाएको छ ।

 

प्रकाशित : 5 November, 2023

प्रतिक्रिया दिनुहोस्