पाटन अस्पतालमा सुई लगाइदिएलगत्तै २को मृत्यु भएपछि औषधि परीक्षण गर्न पठाइयो

काठमाडौँ । कातिक २०, पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ ।
शनिबार दिउँसो अस्पताल भर्ना भएका दुई बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक औषधि चलाएका थिए । त्यसको पाँच मिनेटमै दुबै बिरामीको मृत्यु भएको थियो ।
ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको हो । मृतकका आफन्तले भने स्वास्थ्यकर्मीले गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन् ।
अस्पतालका मेडिसिन विभागका प्रमुख डा. युवराज शर्माका अनुसार उनीहरु दुवै एउटै वार्डमा भर्ना भएका थिए । नगरकोटी १० कात्तिकमा र राई १६ कात्तिकमा उपचारका लागि अस्पताल भर्ना भएका थिए ।
डा. शर्माका अनुसार राईमा निमोनिया भएको थियो । अक्सिजन दिएर उपचार गरिएको थियो । त्यस्तै, नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, नगरकोटीमा उपचारपछि स्वास्थ्य अवस्था राम्रो हुँदै आएको थियो । डिस्चार्ज गर्ने भन्ने चिकित्सकको योजना थियो ।
डा. शर्माका अनुसार राई र नगरकोटीलाई सेफ्ट्रियाक्सोन र रगत पातलो गर्ने औषधि (हेपारिन) र चलाइएको थियो ।
डा. शर्माले बिरामीको मृत्यु हुनुमा इन्जेक्सन नै मुख्य कारण नहुने भन्दै संयोग हुनसक्ने बताए । यस्ता बिरामीलाई यो औषधि दिने भन्ने मेडिकल साइन्समा नियम नै छ । एउटै वार्डमा रहेको सँगसँगै बित्तिनुभयो । तर, त्यो संयोग हुनसक्छ ।’
राईको उमेर पनि धेरै भइसकेका हुनाले अन्य कुनै पनि कारणले मृत्यु भएको हुनसक्ने चिकित्सक बताउँछन् । कहिलेकाहीँ रगतको ढिक्का उछिट्टएिर, अचानक मुटुको घड्कन अनियन्त्रित भई मृत्यु भएको हुनसक्ने डा. शर्माले बताए ।
आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो । जुन छलफलबाट औषधि परिक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको छ ।
इक्जेन्सन दिएपछि उक्त घटना भएको हुनाले अस्पताल प्रशासनले औषधिलाई परीक्षणको लागि पठाइएको छ । त्यसैगरी, मृत्युको कारण पत्ता लगाउनका लागि मृत्तकको पोस्टमार्टम गरिने भएको छ ।
ओखलढुंगाकी ९० वर्षीया जनमाया राइका आफन्त कन्भिन्स भएर लास घर लगेका छन् । यस्तै, ६८ वर्षीय कृष्णबहादुर नगरकोटी भने पोस्टमार्टका लागि लास अस्पतालमा रहेको छ ।