ग्रामीण क्षेत्रका भूकम्प प्रभावितलाई राहत वितरणमा चुनौती
काठमाडौं । कातिक २१, भूकम्प प्रभावित क्षेत्रमा पालिकाहरुसँग समन्वय गरेर राहत वितरण भइरहेको छ । तर, ग्रामीण क्षेत्रका भूकम्प प्रभावितलाई राहत वितरणमा चुनौती बढेको छ ।
धेरैजसो ग्रामीण क्षेत्रका सडकमा गाडी चलाउन मिल्ने अवस्था छैन । केही सडक भूकम्पका कारण भत्किएका छन् ।
सडक पुगेका क्षेत्रमा हिजैदेखि राहत वितरण भइरहेको जानकारी प्राप्त भएको छ । सम्बन्धित पालिकासँग समन्वय र छलफल गरेर राहत पुर्याउन थालिएको छ । दुर्गम क्षेत्रमा हेलिकप्टरमार्फत राहत पठाउने तयारी भएको छ ।
हिजो जुनीचाँदे गाउँपालिकामा हेलिकप्टरमार्फत राहत पठाए पनि अवतरण हुन नसक्दा त्यसै फर्किएको छ । त्यो क्षेत्रमा आज फेरि हेलिकप्टर पठाउने तयारी भएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिनुभयो ।
यस्तै, भूकम्प प्रभावित रुकुम पश्चिमका नागरिकलाई पनि राहत वितरण भइरहेको जानकारी प्राप्त भएको छ। राहतमा त्रिपाल, ब्लाङ्केट, केही खाद्यान्न, न्यानो कपडा तथा स्वास्थ्य किट वितरण गर्न थालिएको छ ।