कृषि प्रशिक्षार्थी कामदार कोरिया पठाउने सरकारको तयारी

काठमाडौं । कातिक २१, सरकारले दक्षिण कारियामा कृषिमा सिक्दै कमाउँदै कार्यक्रमका लागि युवा कृषि उद्यमी र कृषि पढेका विद्यार्थी पठाउने भएको छ ।
१६ कात्तिकमा नेपाल र दक्षिण कोरिया बीच भएको दुई देशको कृषि विकास सहकार्य कार्यक्रमको समझादारीमा युवा कृषि उद्यमी र विद्यार्थी पठाउने विषय समेटिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
हाल इजरायलमा कृषि स्नातक विद्यार्थी जाने गरेका थिए । सोही कार्यक्रमका लागि इजरायल गएका १० जना विद्यार्थी गत महिना हमास विद्रोहीको निशानामा परी ज्यान गुमाए भने एक जना अझै बेपत्ता छन् ।
इजरायलको कार्यक्रम युद्धका कारण प्रभावित भएपछि वैकल्पिक गन्तव्यको रुपमा सरकारले दक्षिण कोरिया छनोट गरेको हो ।
मन्त्रालयकाअनुसार दक्षिण कोरियासँग भएको कृषि विकास समझदारीमा दुई प्रकारका प्रशिक्षार्थी कामदार पठाउने मोडलको प्रस्ताव गरिएको छ ।
जसमा नेपालमा नयाँ ढंगबाट कृषि उद्यममा काम गरिहेका युवा कृषि उद्योगी र कृषिमा स्नातक पढेका विद्यार्थी रहेको मन्त्रालयले जनाएको छ ।
कृषिमा दक्षिण कोरियाले गरेको विकासबाट सिकेर नेपालमा यसको प्रयोगका लागि यस्तो कार्यक्रम अघि सारिएको मन्त्रालयले जनाएको छ ।
प्रारम्भिक सहमतिमा समझदारी गरेको दक्षिण कोरियाले यसको विस्तृत सम्झौता भने केही समय पछि गर्नेछ ।
कृषिमा सिक्दै कमाउँदै कार्यक्रमका लागि जानेहरुको प्रक्रिया यसअघि कोरियाले लैजाने गरेको ईपीएस प्रणाली भन्दा फरक हुने मन्त्रालयले जनाएको छ ।