कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख खोप खेर जाँदै

सहयात्रा टिभी

काठमाडौं । कातिक २१, कोरोना भाइरसविरुद्ध ल्याइएको ४० लाख मात्रा खोप खेर जान थालेको छ ।

चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप ४० लाख मात्रा प्रयोग नगरी म्याद सकिने थालेको हो ।

बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा ती खोप थन्किएका छन् । चीन सरकारबाट अनुदानमा २०७८ वैशाख १२ र १४ गते उक्त खोप आएको थियो ।

वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो । खोपको म्याद यही पुस ७ गतेसम्म मात्र छ ।

नेपालमा पहिलो र दोस्रो मात्रा खोप लगाउन मानिस नभएको र बुस्टर डोजका रुपमा प्रयोग गर्न नमिल्ने भएपछि ४० लाख खोप प्रयोगका लागि परराष्ट्र मन्त्रालयबाट कूटनीतिक पहल गरी अन्य देशमा पठाउन अनुरोध भएको थियो ।

आपूर्ति व्यवस्थापन शाखाको प्रमुख डा सुरेन्द्र चौरसियाले विश्व स्वास्थ्य सङ्गठनले उक्त खोप बुस्टर डोजका लागि उपयुक्त नभएको भनेपछि खोप नलगाइको बताए ।

त्यतिबेला बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो । डब्लुएचओले प्रयोग नगर्ने भनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले खोप नलगाउने निर्णय गरेको हो ।

 

 

प्रकाशित : 7 November, 2023

प्रतिक्रिया दिनुहोस्