निर्माणाधीन सङ्घीय संसद् भवन छिट्टै पूरा गर्न सभामुखको निर्देशन

सहयात्रा टिभी

काठमाडौं । कातिक २१, सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवन आगामी हिउँदे अधिवेशनबाटै सञ्चालनमा ल्याउने गरी उपकरण जडानलगायत काम पूरा गर्न निर्देशन दिएका छन् ।

निर्माणाधीन भवनमा जडान गर्न लागिएका साउण्ड सिष्टमसहित बहुप्राविधिक उपकरण र गुणस्तरबारे उत्पादन कम्पनीसँग जानकारी लिँदै उनले आगामी दुई महिनाभित्रै भवन निर्माण र उपकरण जडानको काम पूरा गर्न सुझाव दिए ।

सभामुख घिमिरेले हाम्रो आवश्यकता अनुसार नवीनतम प्रविधिको प्रयोग र जोखिम निराकरणसम्बन्धी विषयमा विशेष ध्यान पुर्‍याउन सचिवालयका पदाधिकारी र कर्मचारीलाई सुझाव दिए ।

सहरी विकासमन्त्री सीता गुरुङले सङ्घीय संसद् भवन निर्माणलाई सरकारले उच्च प्राथमिकता दिएर अघि बढाइरहेको जानकारी दिए ।

आगामी हिँउदे अधिवेशनसम्ममा पाँच वटा भवन तयार हुने ठेकेदार कम्पनीले बताउँदैआएको छ । सञ्चार, साउण्डसिष्टम र उपकरण जडानसम्बन्धी जिम्मेवारी प्राप्त गरेको जर्मनको टेलिभाइस कम्पनीले दक्षिण एशियामै नयाँ उपकरण जडान हुने गरी सभाकक्षसहितको जिम्मेवारी पूरा गर्ने अठोट व्यक्त गरेको छ ।

आयोजना निर्देशक मच्चाकाजी महर्जनले छ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी धमाधम काम भइरहेको तथा सदनमा नवीनतम र गुणस्तरीय उपकरण जडानको काम अघि बढिरहेको बताए ।

परियोजनाअन्तर्गत प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत १२ भवन हुनेछन् । भवन निर्माणका लागि अनुमानित खर्च रु छ अर्ब ९२ करोड भए पनि रु पाँच अर्ब दुई करोडमा सम्झौता भएको छ ।

सरकारले चालु आर्थिक वर्षमा भवन निर्माण विनियोजन रु तीन अर्ब २६ करोड बजेट विनियोजन गरेको छ ।

प्रकाशित : 7 November, 2023

प्रतिक्रिया दिनुहोस्