सिंहदरबारमा प्रमुख दलका नेताहरुको बैठक

काठमाडौं । कातिक २१, प्रमुख दलका नेताहरुले जनतामा देखिएको असन्तुष्टिमा खेलेर अराजकता फैलाउने चिन्ता व्यक्त गरेका छन् ।
उनीहरुले गणतन्त्रप्रति प्रतिवद्धता मात्र व्यक्त गरेनन्, आवश्यक परे मुखरित हुने समेत बताएका छन् ।
भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेर आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार १२ बुँदे समझदारी पक्षधर दलहरुका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा उनले शुक्रबार मध्यरातमा गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा भएको क्षति तथा उद्दार र राहतमा सरकारले गरिरहेको कामबारे जानकारी गराए ।
जनता कुनै व्यक्तिको शासनमा बस्न तयार नभएको भन्दै प्रचण्डले यो निकै घातक हुने बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका सबै सहभागीले गणतन्त्रप्रति प्रतिवद्धता जनाए ।
अनि जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।