जंगीअड्डाले अघि सारेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिए

सहयात्रा टिभी

काठमाडौँ । कात्तिक २४, भावी प्रधानसेनापतिको रोलक्रममा ल्याउने गरी जंगीअड्डाले अघि सारेका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन् ।

उनले दिएको राजीनामा रक्षा मन्त्रालयमा पठाइएको नेपाली सेनाका सूचना अधिकारी सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

चार दिनअघि मात्रै पाण्डेको उमेर विवादमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशन दिएको थियो । आयोग स्रोतका अनुसार, सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत उजुरी परेपछि त्यसमाथि छानबिन गर्न रक्षा मन्त्रालयलाई पत्राचार गरिएको थियो ।

रक्षा मन्त्रालयका स्रोतका अनुसार, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का पनि विवाद आएपछि यसमा छानबिन गरेर मात्र अघि बढ्नुपर्ने पक्षमा थियो ।

यसपछि छानबिनका लागि रथी सीताराम खड्काको नेतृत्वमा सेनाको कानून हेर्ने प्राड विभागका प्रमुख रत्नप्रकाश थापा र अर्का एक जना सदस्य रहेको समिति बनाइएको थियो ।

समितिले छानबिनका क्रममा जन्ममितिमा कैफियत भेटेपछि उपरथी पाण्डेले राजीनामा दिएका हुन् । स्रोतका अनुसार, राजीनामा नदिँदा ‘कोर्ट मार्सल’ हुनसक्ने चेतावनी दिएपछि उनले स्वेच्छिक अवकाशको बाटो रोजेका हुन् ।

त्यसअनुसार पाण्डेको जन्ममिति १२ माघ २०२१ कायम हुँदा उनले १ वर्ष ९ महिना अघि अवकाश पाउनुपर्थ्यो । किनकि, उपरथीको अवकाशको उमेरहद ५७ वर्ष छ ।

पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न जंगीअड्डाले २९ असोजमा सूचना जारी गरेको थियो । सूचना जारी भएको ७ दिनपछि बढुवा सिफारिस सम्बन्धी पत्र रक्षा मन्त्रालय हुँदै मन्त्रिपरिषद्सम्म पुगेर निर्णय हुनुपर्ने थियो ।

यद्यपि, दशैं बिदा र लगत्तै भएको प्रधानसेनापति प्रभुराम शर्माको चीन भ्रमणका कारण सिफारिस अघि बढेको थिएन । स्रोतका अनुसार, प्रधानसेनापति शर्मा १६ कात्तिकमा फर्किएलगत्तै उपरथी पाण्डेलाई रथी बढुवामा सिफारिस गर्न पत्र पठाउने तयारी थियो ।

तर, छानबिनविना प्रस्ताव आए फाइल फर्काउने संकेत रक्षा मन्त्रालयले दिएपछि जंगीअड्डा तत्काल सिफारिस पठाउन हच्किएको थियो ।

 

प्रकाशित : 10 November, 2023

प्रतिक्रिया दिनुहोस्