चितवनको पर्यटकीय केन्द्र पटिहानीमा रिसोर्ट सञ्चालनको अन्तिम तयारी
काठमाडौं । मंसिर १, चितवनको पर्यटकीय केन्द्र पटिहानीमा रिभर बैंक जंगल रिसोर्ट सञ्चालनको अन्तिम तयारी गरिएको छ ।
५ बिघा क्षेत्रफलमा तयार गरिएको रिसोर्टमा ८५ करोड लगानी रहेको सञ्चालक दीपेन्द्र जोशीले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्जको छेउमा राप्ती नदी किनारमा रहेको रिसोर्ट सन् २०२४ को जनवरी १५ बाट औपचारिक रुपमा सञ्चालन गर्ने गरी तयारी गरिएको सञ्चालक जोशीले बताए ।
होटलमा ४६ वटा कोठा र २ वटा हल तथा गार्डेन छ । सञ्चालक जोशीका अनुसार कोठालाई स्ट्याण्डर्ड, स्वीट, प्रिमियम र नर्मल गरेर ४ क्याटेगोरीमा बाँडिएको छ । २ वटा स्वीट, २४ वटा प्रिमियम, ८ वटा नर्मल र १० वटा स्ट्याण्डर्ड कोठाहरु छन् । १५०/१५० जना अट्ने २ वटा सुविधा सम्पन्न हलहरु छन् ।
एउटा रेष्टुरेन्ट, भिल्लासहित गरेर १३ वटा स्वीमिङ्ग पुल छन् । रिसोर्टका १२ वटा कोठाका अलग–अलग स्वीमिङ्ग पुल छन् । स्पा, जिम लगायतका सबै सुविधा रिसोर्टमा छन् । रिसोर्ट चल्दा १ सय जनाले प्रत्यक्ष रोजगारी पाउने जोशीले बताए ।
पटिहानी क्षेत्रमा रिभर बैंक जंगल रिसोर्टसहित ६ वटा लक्जरी रिसोर्ट खुलेको भरतपुर महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष विष्णुराज महतोले बताए । सो क्षेत्रमा रहेका अधिकांश लक्जरी रिसोर्ट पछिल्लो २ महिनादेखि भरीभराउ छन् ।
यो क्षेत्रमा जंगल भिल्ला, सोल्टी वेटर्न, कसरा रिसोर्ट, नारायणी रिसोर्ट, इन्टु द वाइल्ड इको रिसोर्ट सञ्चालनमा छन् । पटिहानी नजिकै जगतपुरमा जगतपुर लज र टाइगर ल्याण्ड रिसोर्ट सञ्चालनमा छन् ।