केपी ओली प्रचण्ड माधव नेपाल एमाले


धनगढीमा अस्पतालबाटै ल्यापटप चोरी गरेको आरोपमा सशस्त्रका असई पक्राउ

सहयात्रा टिभी

काठमाडौं । मंसिर १, धनगढीमा अस्पतालबाटै ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) पक्राउ परेका छन्।

कात्तिक २६ गते धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक रमेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

दार्चुलाको ४३ नम्बर गणमा कार्यरत भण्डारीलाई तालिमका लागि पोखरा पठाइएको थियो। तिहारको बिदामा उनी धनगढी पुगेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दका अनुसार अस्पतालको सिसिटिभी फुटेजका अनुसार कात्तिक २६ गते राति ११ बजेर ४८ मिनेटको समयमा भण्डारीले ल्यापटप चोरी गरेको देखिन्छ।

महत्वपूर्ण विवरण राखिएको ल्यापटप चोरी भएपछि अस्पतालले प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

उक्त सिसिटिभी फुटेजको आधारमा चोरी गर्ने व्यक्ति सशस्त्र प्रहरीका सहायक प्रहरी निरीक्षक भएको खुलेपछि जिल्ला प्रहरी कार्यालयले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेको थियो।

सोही अनुसार सशस्त्र प्रहरी बलले नै असई भण्डारीलाई नियन्त्रणमा लिएर बिहीबार जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएको प्रहरी नायब उपरीक्षक चन्दले बताए।

एकपछि अर्को गरी सुरक्षाकर्मी नै विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भएका घटना सार्वजनिक हुन थालेपछि सर्वसाधारण नागरिकले प्रहरी संगठनप्रतिको विश्वास गुमाउने वातावरण सिर्जना भएको बताइएको छ।

अपराधिक क्रियाकलापमा संलग्न भएका कानुनी दायरामा ल्याएर कर्मचारी शुद्धीकरण गर्न आवश्यक रहेको चन्दले बताए।

 

प्रकाशित : 17 November, 2023

प्रतिक्रिया दिनुहोस्