केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुन प्रधानमन्त्रीको जोड

सहयात्रा टिभी

काठमाडौं । मंसिर १, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) तनहुँले आज शुक्रवार आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ । एकथरी तत्त्व कुनै न कुनैरूपले देशमा अराजकता सिर्जना गर्ने अभियानमा लागिरहेका छन् । प्रतिगमनका निम्ति मलजल गरिरहेका छन् ।’

परिवर्तनको रक्षाका निम्ति र देशको सुरक्षाका निम्ति सरकार दृढ रहेको बताउँदै प्रधानमन्त्रीले गठबन्धनमाथि खतरा नरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायले पाएका हक अधिकार खोस्ने र नागरिकका प्रतिनिधिको हातमा आएको सत्ता खोस्ने षड्यन्त्रलाई चिर्दै अगाडि बढ्छौँ ।’ सामन्तको हातमा सत्ता लैजाने दुस्साहस गरिएको उहाँको भनाइ थियो ।

पार्टीले नागरिकका घरघरमा पुग्ने कार्यक्रमसहित रूपान्तरण अभियान अगाडि बढाएको भन्दै प्रचण्डले भन्नुभयो, ‘गण्डकी प्रदेशमा यो अभियान ठिक ढङ्गले अगाडि बढेको छ । अभियानलाई एक महिना विस्तार गरिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले पार्टी पुनःनिर्माणको विशेष अभियानमा रहेको बताउँदै देशैभरि नागरिकसँग माओवादी अभियानले नागरिकमाझ माओवादी र देशका लागि औपचारिक अभियानमात्र नरहेको र रणनीतिक अभियानको हिस्सा रहेको बताउनुभयो ।

 

प्रकाशित : 17 November, 2023

प्रतिक्रिया दिनुहोस्