यो शताब्दीमा पृथ्वीको तापक्रम वृद्धि २.९ डिग्री सम्म पुग्ने राष्ट्रसङ्घको चेतावनी

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ५, विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्‍याएको संयुक्त राष्ट्रसङ्घले सोमबार जनाएको छ ।

प्रतिबद्धतालाई इमान्दारीताका साथ कार्यान्वयनमा नलगेमा यो शताब्दीमा तापक्रम वृद्धि विनाशकारी २.९ डिग्री सेल्सियससम्म पुग्ने राष्ट्रसङ्घले चेतावनी दिएको छ ।

दुबईमा महत्वपूर्ण कोप-२८ जलवायु वार्ताको ठीक अघि संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गरिएको छ र यसले अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलता उन्मुख रहेको उल्लेख गरेको छ ।

यो वर्ष मानव इतिहासकै सबैभन्दा तातो वर्ष हुने अपेक्षा गरिएको सन्दर्भमा यूएनईपीले भनेको छ, ‘विश्वले बिग्रिएको जलवायु रेकर्डको सङ्ख्या, गति र परिमाणमा चिन्ताजनक गति देखिरहेको छ ।’

कार्बन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै संयुक्त राष्ट्र सङ्घले पृथ्वीमा सन् २१०० सम्ममा २ दशमलव ५ डिग्री सेल्सियस र २ दशमलव ९ डिग्री सेल्सियस तापक्रम वृद्धि हुने जनाएकाे हाे ।

प्रतिवेदनमा अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख रहेको उल्लेख गरेको छ । अहिले पृथ्वीको वायुमण्डलको तापमानवृद्धि एक दशमलव ४ डिग्री सेल्सियस रहेको छ । संयुक्त राष्ट्रसङ्घले विश्वको तापक्रम वृद्धि एक दशमलव ५ डिग्री सेल्सियसमै सीमित गर्नुपर्ने बताउँदै आएको छ ।

सन् २०२१ देखि २०२२ सम्ममा १.२ प्रतिशतले उत्सर्जन वृद्धि भएको विश्वले वायुमण्डलमा हरितगृह ग्याँसको रेकर्ड स्तरलाई प्रोत्साहन गरिरहेको युएनईपीले जनाएको छ ।

 

प्रकाशित : 21 November, 2023

प्रतिक्रिया दिनुहोस्