मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी नेपाल आउँदै

काठमाडौँ । मंसिर ५, नेपाल–चीन सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने भएका छन् ।
नेपालका लागि चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा चीनको युनान माउण्टेनियरिङ एण्ड आउटडोर स्पोर्टस् एसोसिएशन र होटल एसोसिएशन पोखराको सहआयोजनामा यही मङ्सिर ९ गते पोखरामा दौड प्रतियोगिता आयोजना हुँदैछ ।
यो प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मङ्सिर ७ गते पोखरा विमानस्थलमा अवरतण गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उनीहरु चिनियाँ सरकारको सहयोगमा हिमालय एअरलाइन्सको चार्टर्ड विमानमार्फत पोखरा आउन लागेका हुन् ।
प्रतियोगिता सञ्चालनका लागि २२ वटा उपसमिति गठन गरिएको छ । यसअघि असार ८ र ९ गते पोखरामा आयोजित चिनियाँ ड्रागन बोट रेसमा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी पोखरा आएका थिए ।