नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री सुरू

काठमाडौँ । मंसिर ६, आजबाट नेपालमै पहिलोपटक बुक बिल्डिङ प्रक्रियाबाट सेयर बिक्री सुरू भएको छ।
सर्वोत्तम सिमेन्टले आजबाट बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गरेको हो। कम्पनीले संस्थागत योग्य लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर जारी गरिरहेको हो।
यो कम्पनीले जारी गर्न लागेको कुल ६० लाख कित्ता सेयरको ४० प्रतिशत हो। कम्पनीले अब संस्थागत योग्य लगानीकर्तालाई ४ सय १ रूपैयाँदेखि ६ सय १ रूपैयाँको दरमा सेयर जारी गरेको छ । यसमा संस्थागत लगानीकर्ताले बोलकबोल गर्नेछन्।
बोलकबोलमा आवेदन दिएको अधिकतम मूल्य र सो अनुसारको कित्ता सेयर बाड्दै जाँदा जुन मूल्यमा पुगेर सेयर संख्या सकिन्छ, त्यही मूल्य कट अफ प्राइसका रूपमा रहन्छ।
यसरी बोलकबोल गरेको सेयर संस्थागत लगानीकर्ताले खरिद गर्नैपर्छ। यसभन्दा अघि पनि संस्थागत लगानीकर्ताहरूले बुक बिल्डिङ प्रक्रियाबाट कम्पनीको मूल्य निर्धारणका लागि कम्पनीको सेयरमा बोलकबोल गरेका थिए।
यसरी पहिले गरेको बोलकबोल प्रक्रियामा सहभागी हुन कम्पनीले मूल्य दिएको हुन्छ। त्यो समय बोलकबोलमा भाग दिएर मूल्य निर्धारण गरिने भए पनि सेयर भने बाँडफाँट गरिएको हुँदैन।