केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि हुँदै
काठमाडौँ । मंसिर ७, केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि पोखरामा सुरु हुँदैछ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा १२ टालीले प्रतिस्पर्धा गर्ने छन् ।
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अनुसार सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीका दुई गरी १२ टोली सहभागि हुनेछन् ।
जसअन्तर्गत समूह ‘ए’ मा बागमती, कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी प्रदेश रहेका छन् ।
यस्तै समूह ‘सी’ मा नेपाल पुलिस, मधेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘डि’ मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी निलो रहेका छन् ।
हरेक समूहको समूह विजेता मात्र सेमिफाइनलमा पुग्नेछन् । फाइनल खेल मंसिर १५ गते हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ ले ३० हजार, ‘बेस्ट बलर’ ले २० हजार तथा ‘म्यान अफ द म्याच’ले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।