बसन्तपुरको संस्कृत विश्व विद्यालयको जीर्ण भवन भत्काउन सिफारिस

काठमाडौं । मंसिर ७, बसन्तपुर डबलीको दक्षिणतर्फ रहेको नेपाल संस्कृत विश्व विद्यालयले प्रयोग गर्दे आएको जीर्ण भवन भत्काउन सिफारिस गरिएको छ ।
महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा गठित समितिले भवन भत्किएर जुनसुकै समयमा जनधनको क्षति हुन सक्ने भएको जनाउँदै प्राविधिक प्रतिवेदनका आधारमा भत्काउन मंगलबार मेयर बालेन शाहसमक्ष सिफारिस गरेको हो ।
११ फागुन २०७९मा बसेको महानगरपालिकाको १३ औं कार्यपालिका बैठकले उपप्रमुख डंगोलको संयोजकत्वमा वडा नम्बर ८ का अध्यक्ष एवं सम्पदा समितिका संयोजक आशामान संगत र वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन सदस्य रहेको समिति गठन गरेको थियो ।
समितिलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम रहेको भवन महानगरपालिकाको मातहतमा ल्याउन र वडानम्बर ५ हाँडीगाउँमा रहेको सार्वजनिक जग्गाको भोगाधिकार प्राप्त गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको थियो ।
सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ को व्यवस्थाबमोजिम जग्गा तथा भवन महानगरपालिका मातहतमा ल्याउन समिति गठन गरिएको महानगरले जनाएको छ ।
कहिले निर्माण भयो भन्न्ने अभिलेख नै नभएको भन्दै महानगरले संरचनामा नै सम्बन्धित कागजात हुनसक्ने भएपनि छिर्न सक्ने अवस्था नरहेको जनाएको छ ।