काठमाडौंले मागेको ७१ प्रधानाध्यापक पदमा १५० आवेदन परे

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, काठमाडौं महानगरपालिकाले मागेको ७१ प्रधानाध्यापक पदमा १५० वटा आवेदन परेको छ ।

महानगरले माग गरेको आधारभूत तह (१-५) ६ वटा पदको लागि ११ वटा, आधारभूत तह (१-८) २२ पदको लागि ३१ वटा र माध्यामिक तहको ४३ पदको लागि १०८ वटा गरी जम्मा १५० आवेदन परेको हो ।

तर तत्काल खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति नगर्न काठमाडौं महानगरलाई उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले उक्त आदेश जारी गरेको हो । खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्न लागेको भन्दै परेको मुद्दामा उच्च अदालत पाटनले ‘नियम कार्यान्वयन नगर्न’ अन्तरिम आदेश जारी गरेको हो ।

महानगरका मेयर बालेन्द्र साहले खुला प्रतिस्पर्धाबाट प्रअ नियुक्ति गर्न कार्यविधि नै तयार पारेका थिए । अदालतको आदेशसँगै मुद्दाको अन्तिम टुंगो नलागेसम्म खुलाबाट प्रअ नियुक्ति गर्ने बाटो रोकिएको छ ।

महानगरपालिकाले खुला प्रतिस्पर्धाबाट करारमा पाँच वर्षको लागि प्रधानाध्यापक नियुक्ति गर्ने भन्दै १७ कात्तिकमा दरखास्त आह्वान गरेको थियो ।

 

प्रकाशित : 24 November, 2023

प्रतिक्रिया दिनुहोस्