खानेपानी मन्त्रीद्धारा मेलम्चीको पानी चाँडै खुवाउने तयारी

काठमाडौँ । मंसिर १२, खानेपानी मन्त्री महिन्द्रराय यादवद्धारा काठमाण्डौवासीलाई मेलम्चीको पानी चाँडै खुवाउने तयारी भएको छ ।
काठमाण्डौवासीले मेलम्चीको पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला खानेपानी मन्त्री यादवले आज मङ्गलवार अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ यो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गर्नुभएका यादवले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालयसँग सकारात्मक छलफल भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यहाँ अर्थ मन्त्रालयमा खानेपानीको विषयमा छलफल भएको छ । सकारात्मक कुरा भएको छ । हामी फेरि बसेर छलफल गरेर पानी ल्याउने प्रक्रिया हामी अगाडि बढाउँछौँ । छिटोभन्दा छिटो हामी काठमाण्डौवासीलाई पानी खुवाउँछौँ ।’
काठमाण्डौवासीले भने एक हप्ताभित्र मेलम्चीको पानीको व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ताभित्र पनि पानी काठमाण्डौ ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।
कोटेश्वरका स्थानीय हरि गौतमले अर्थमन्त्रीसँगको भेटमा मेलम्चीको पानी एक हप्ताभित्र काठमाण्डौ आउने गरी आवश्यक बजेटको व्यवस्था गर्न माग गरिएको बताउनुभयो ।