प्रतिनिधि सभा सदस्यहरुले जलन सम्बन्धी एकीकृत कानुन बनाउन पहल

काठमाडौं । मंसिर १५, प्रतिनिधि सभा सदस्यहरुले जलन सम्बन्धी एकीकृत कानुन बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार राजधानीमा जलनपीडितहरुको सहभागितामा भएको ‘अग्निजन्य हिंसा अन्त्यका लागि बनेका कानुन र त्यसको कार्यान्वयनको अवस्था’ सम्बन्धी छलफलमा भाग लिँदै सांसदहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
एसिड सम्बन्धी आक्रमणका घटना बढेको भन्दै न्युनीकरण गर्न २०७७ सालमा अध्यादेश जारी भएको थियो । उक्त अध्यादेश प्रतिथापन विधेयकको रुपमा संसदमा दर्ता भएर पनि कानुनमा रुपान्तरित भइसकेको छ ।
२०७९ साल असार ३१ गते राष्ट्रपतिबाट प्रमाणीकरण भएर लागू भएको ‘तेजाब तथा घातक रासायनिक पदार्थ नियमन ऐन २०७९’ ले अग्निजन्य सबै घटनाहरुलाई समेट्न नसकेको भनी सरोकारवालाहरुले सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।