तान्जानियामा बाढी पहिरोमा परी ४७ जनाको मृत्यु

सहयात्रा टिभी

तान्जानिया । मंसिर १८, उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ । राजधानी डोडोमाबाट करिब ३०० किलोमिटर उत्तरमा पर्ने कटेश सहरमा शनिबार भारी वर्षा भएको थियो ।

बाढीपहिरोमा आइतबार साँझसम्म मृत्यु हुनेको संख्या ४७ पुगेको र ८५ जना घाइते भएको उत्तरी तान्जानियाको मन्यारा क्षेत्रकी क्षेत्रीय आयुक्त क्वीन सेन्डिगाले स्थानीय सञ्चारमाध्यमलाई बताइन्। उनले मृत्यु हुनेको संख्या बढ्न सक्ने उल्लेख गर्दै यस क्षेत्रका धेरै सडक हिलो, पानी र रूख र ढुङ्गाले अवरुद्ध भएको समेत बताएकी छिन् ।

तान्जानियाकी राष्ट्रपति सामिया सुलुहु हसन अहिले राष्ट्रसंघीय जलवायु सम्मेलनका लागि दुबईमा रहेकी छिन् । उनले दुबईबाट नै शोक सन्देश पठाउँदै भनेकी छिन्, ‘बाढीपहिरोमा परेका मानिसहरूलाई उद्धार गर्न आदेश दिन्छु ।’

प्रकाशित : 4 December, 2023

प्रतिक्रिया दिनुहोस्