परराष्ट्रमन्त्री साउदद्धारा विपिन जोशीको रिहाइका लागि कतारसँग आग्रह

सहयात्रा टिभी

काठमाण्डौ । मंसिसर १९, हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग आग्रह गरेका छन् ।

मंगलबार परराष्ट्रमन्त्री साउदले नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग मन्त्रालयमा भेट गरी जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका हुन् ।

हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन मन्त्री साउदले कतारी राजदूत अन्सारीसँग आग्रह गरेका हुन् ।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको जानकारी दिँदै नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास जारी रहेको बताए ।

मन्त्री साउदले यसअघि ८ मंसिरमा कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग मन्त्रालयमा भएको भेटमा जोशीको रिहाइका दागि पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तै उनले ७ मंसिरमा इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए ।

परराष्ट्रमन्त्री साउदले १० डिसेम्बरदेखि कतारमा सुरु हुन गइरहेको दोहा २१औँ फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनको सचिवलायले जनाएको छ ।

 

प्रकाशित : 5 December, 2023

प्रतिक्रिया दिनुहोस्