दुबईमा मन्त्रीहरूसँग भेट्दैमा जलवायु परिवर्तनको असर कम नहुने : उपसभामुख राना

काठमाडौँ । मंसिर २०, उपसभामुख इन्दिरा रानाले दुबईमा जम्मा भएर मात्रै जलवायु परिवर्तनको असर कम नहुने टिप्पणी गर्नुभएको छ ।
मङ्गलवार काठमाण्डौमा आयोजित एक कार्यक्रममा उपसभामुख रानाले दुबईमा जम्मा भएर, मन्त्रीहरूसँग भेट्दैमा जलवायु परिवर्तनको असर कम नहुने बताउनुभएको हो ।
उहाँले जलवायु परिवर्तनको असर कम गर्नका लागि आफ्नै भान्सा र आफ्नै दिनचर्यालाई परिवर्तन गरेर अघि बढ्न आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तपाईँहरू को–को गएर आउनुभयो कोप–२८ मा रु जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा धेरै जना जानुभएको छ । धेरै जना दुबईमा थुप्रिएर, मन्त्री भेटेर मात्रै जलवायु परिवर्तनको असर कम हुने होइन । हामीले भान्साबाट, आफ्नो गतिविधिबाट जलवायु परिवर्तनको असर कम गर्न सक्छौँ ।’
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ यही मङ्सिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा भएको थियो । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड दुबई जानुभएको थियो ।