विराटनगरमा आगलागी हुँदा मृत्यु हुनेको संख्या तीन पुग्यो
काठमाडौँ । मंसिर २१, विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको कवाडी पसलमा आगलागी हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
बुधबार दिउँसो भएको आगलागीमा परी एक जनाको घटनास्थलमै र अर्का एक जनाको न्यूरो अस्पतालमा मृत्यु भएको थियो । थप उपचारका लागि काठमाडौं पठाइएका गम्भीर घाइतेमध्ये एक जनाको बुधबार राति मृत्यु भएको हो ।
प्रहरीका अनुसार आगलागीमा परी शुशिला पासवानको घटनास्थलमै मृत्यु भएको थियो । ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो ।
विराटनगर ६ का मण्डल कवाडी गोदामका सञ्चालक पनि हुन् । थप उपचारका लागि काठमाडौ पठाइएका चारमध्ये बुधबार राति सुनिता कामतको मृत्यु भएको मोरङ प्रहरी प्रवक्त डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।
आगलागीमा परी घाइते भएका विराटनगर–६ की ६० वर्षीया रीता सरदार, विराटनगर–६ कै सुनिता कामत, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामतलाई थप उपचारका लागि सेनाको हेलिकप्टरमा काठमाडौँ पठाइएको थियो ।
विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो २ः१५ बजेतिर एक्कासी आगलागी सुरु भएको थियो ।
गोदाम भित्र काम गरिरहेको अवस्थामा चुरोट सल्काएपछि एक्कासी आगो लागेको थियो । गेट छेउमा लागेको आगोका कारण काम गरिरहेका कामदार सहजै बाहिर निस्कन पाएनन्, जसले गर्दा मानवीय क्षति भएको प्रहरीले बताएको छ ।
आगलागीका कारण कवाडी पसल पूर्णरुपमा जलेको छ । क्षतिको विवरण आइनसकेको डिएसपी दाहालले बताए ।