केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सम्पादकीय : नवराजहरुले न्याय पाउँदा स्थापित भएको भाष्य

सहयात्रा टिभी

जाजरकोट, चौरजहारी नगरपालिका सोतीगाँउमा अन्तर जातीय प्रेमका कारण क्रुरतापूर्वक हत्या भएका नवराज विकसहित ६ युवा र उनीहरुका परिवारले साढे तीन वर्ष पछि न्याय पाएका छन् ।

जिल्ला अदालत रुकुम पश्चिमले साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको नवराज विकसहित ६ जनाको हत्याको घटनामा २४ जनालाई जन्मकैदको सजाय सुनाएसँगै पीडितले न्याय पाएका हुन् । जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २४ जनालाई जन्मकैदको सजाय सुनाएको हो । जन्मकैदको सजाय तोकिएकाहरु २५ वर्ष कैद बस्नु पर्छ ।

कथित उपल्लो जात भनिने र धनाढ्यहरुले मात्रै न्याय पाउँछन्, गरिब, निमुखाले न्याय पाउनु फलामको चिउरा चपाउनु सरह हुन्छ भन्ने स्थापित भाष्यलाई यो फैसलाले तोडिदिएको छ । नेपालको राजनीतिक परिवर्तन लोकतान्त्रिक गणतन्त्र मुलुकसम्म आइपुगेको छ । तर अझै पनि सामाजिक रुपमा आउनु पर्ने परिवर्तनहरु संकीर्ण विचारबाटै गुज्रिरहेको देखिन्छ । जसका कारण नेपाली समाजमा परम्परादेखि जरा गाडेर बसेको जातीय विभेदले अझै पनि प्रश्रय पाइरहेको छ ।

जातीय विभेद, हामी उच्च जात–वर्गका मानिस हौँ, कथित तल्लो जात भनिएकाहरुमाथि थिचोमिचो गर्नै पर्छ भन्ने जस्ता चरम पुरातनवादी सोचका कारण नवराजहरु जस्ता युवाहरुले विद्रोह गर्नु परेको देखिन्छ । देशले फड्को मार्दै गणतन्त्रसम्म आइपु्ग्दा समाजमा भने परातन सोच अझै पनि हाबी भएको पाइन्छ । यसको अन्त्य र आगामी दिनमा दलित समुदायमाथिको संकीर्ण सोच परिवर्तनका लागि अदालतको यो आदेशले पनि नयाँ मान्यता स्थापित गर्न सफल भएको छ ।

१० जेठ २०७७ मा जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षका नवराज विक आफ्नी प्रेमिकासँग विवाह गर्न साथीहरुसँगै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँ पुगेका थिए । त्यस क्रममा किशोरीका आफन्त र गाउँलेले लखेटीलखेटी नवराज विकसहित ६ जनाको हत्या गरेका थिए भने १२ जना घाइते भएका थिए ।

प्रहरी अनुसन्धानले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३१ जना घटनामा प्रत्यक्ष संलग्न रहेको र नवराज विककी प्रेमिका किशोरी, उनकी आमा र किशोरीका ठूलोबाबु इन्द्रबहादुर मल्ललाई घटनाको षड्यन्त्रमा सामेल भएको आरोप उल्लेख गरेको थियो ।

नेपाली समाजमा दलित समुदायमाथिको छुवाछूत र जातीय विभेदका आधारमा हत्या नै गरिनु जघन्य कार्य हो । यो घटना अन्तरजातीय प्रेमलाई स्विकार्न नसक्ने सामन्तवादी अहंकारवादको चरम र भद्दा चिन्तनबाट जन्मिएको जघन्य हत्याका रूपमा रहेको छ ।

छोरा होस् वा छोरी, किशोरावस्थाबाट उकालो लागेपछि साथीसंगीबीच सहकार्य गर्दै जाँदा मायाप्रेम साटासाट गर्नु, विपरीतलिंगीप्रतिको आकर्षण हुनु स्वाभाविक र प्राकृतिक हो । तर मानिसको नैसर्गिक अधिकारलाई नेपाली समाजमा जातभातका नाममा, धनी र गरिबका नाममा वा परम्परावादी संस्कार र संस्कृतिका नाममा समाजका वर्चस्वशाली वर्ग र समुदायले चोखो प्राकृतिक प्रेममाथि धावा बोल्ने गर्छन् । त्यसैको सिकार नवराजहरू हुन पुगे ।

मल्ल ठकुरीकी छोरीलाई सामान्य परिवारको विश्वकर्मा युवकले प्रेम गरी भगाउन खोज्नु ठूलै अपराध हो भन्ने सामन्ती बुझाइका कारण यो जघन्य अपराध हुन गएको देखिन्छ । तर, संगठित ढंगले ठूलै दलबलसहित दिनदहाडै लखेटी–लखेटी चौतर्फी घेरा हालेर निर्मम ढंगले हत्या गरिएको पहिलो घटना हुन सक्छ । छुवाछूत र जातीय विभेदजन्य, देशकै कलंकका रूपमा दर्ज हुन पुगेको यस घटनामा अदालतको फैसलाले दलित मानव अधिकारलाई राम्ररी पुनःस्थापित गरिदिएको छ । दलित समुदायमाथि कोहीकसैले कुनै पनि विभेदजन्य कार्य वा व्यवहार गर्‍यो भने न्यायालयले मनासिब खालको न्याय दिन्छ भन्ने तथ्य र नजिर स्थापित भएको छ ।

दलित समुदायमाथि विभेद, अपमान, घृणा र बहिष्करण गर्नु गैरदलितको विशेष अधिकार हो भन्ने भाष्य निर्माण गरिएको थियो, जसलाई रुकुम पश्चिम जिल्ला अदालतले तोडिदिएको छ ।

जातीय विभेदविरुद्ध अपराध गर्नेलाई न्यायालयले ढिलोचाँडो दण्डसजाय गर्ने र पीडितलाई न्याय दिने भाष्य स्थापित भएको छ । पीडक जतिसुकै शक्तिशाली, धनीमानी, जिम्मेवार पदमा आसीन भए पनि कानुनले छोड्दो रहेनछ भन्ने तथ्य पनि स्थापित भएको छ ।

प्रकाशित : 8 December, 2023

प्रतिक्रिया दिनुहोस्