लगानी सम्मेलनअघि नै कन्ट्री रेटिङ गरिसक्ने : अर्थमन्त्री डा. महत

सहयात्रा टिभी

काठमाडौं । मंसिर २५, अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानी सम्मेलनअघि नै नेपालको सार्वभौम साख मूल्यांकन (कन्ट्री रेटिङ) गरिसक्ने बताएका छन् ।

आगामी वैशाख ९ र १० गते काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनबारे सोमबार अर्थ मन्त्रालयमा विकास साझेदारसँगको छलफलमा मन्त्री डा. महतले यस्तो जानकारी गराएका हुन् ।

सम्मेलनअघि नै सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कानुनका विधेयक संसदबाट चाँडै पारित भएर आउने पनि उनले बताए । अरु देशभन्दा नेपालमै किन लगानी गर्ने भन्ने लगानीकर्ताले सोध्ने प्रश्न आफूहरुसँग रहेको अर्थमन्त्री डा. महतले बताए ।

‘नेपालमा धेरै माग छ आपूर्ति कम छ । त्यसकारण नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य हो । नेपालमा जलविद्युत्, पर्यटन, सूचना प्रविधि, कृषि लगानीका सम्भावित उर्वर क्षेत्र हुन्,’ उनले भने ।

लगानीका क्षेत्रमा देखिएका समस्या हटाउन सरकारले गम्भीर भएर काम गरिरहेको पनि मन्त्री डा. महतले बताए ।

लगानी सम्मेलनलाई कसरी प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ भन्नेबारे विकास साझेदारसँग छलफल गरेको पनि उनले बताए ।

विकास साझेदारका अनुभवका आधारमा दिइने सुझावलाई आत्मसात गर्दै कस्ता लक्ष्य र उद्देश्य लिनुपर्छ भन्नेबारेमा छलफल भएको उनले बताए ।

 

 

प्रकाशित : 11 December, 2023

प्रतिक्रिया दिनुहोस्