टर्कीमा रेफ्रीमाथि मुक्का प्रहार गरेपछि टर्किस सुपर लिगका खेलहरु स्थगित

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २६, टर्कीमा एक क्लबका अध्यक्षले रेफ्रीमाथि मुक्का प्रहार गरेपछि टर्किस सुपर लिगका खेलहरु स्थगित भएका छन् ।

सोमबार शीर्ष श्रेणी अन्तर्गत एमकेई अन्कारगुकु र काएकुर रिजेस्पोरबीच भएको खेलमा एमकेई अन्कारगुकुका अध्यक्ष फारुक कोकाले मैदान प्रवेश गर्दै रेफ्री हालिल उमुत मेलरलाई मुक्का प्रहार गरेका थिए ।

९७औं मिनेटमा काएकुरले बराबरी गोल गरेपछि कोका मैदान प्रवेश गरेका थिए र रेफ्री विरुद्ध उत्रिएका थिए । मुक्का प्रहार भएपछि रेफ्री मेलर मैदानमै ढलेका थिए ।

उनी घाइते छन् । उनलाई अस्पताल लगेर उपचार गर्नुपरेको थियो । उनको उपचारमा संलग्न फिजिसियन डक्टर मेहमेत युरोबुलुटले ठूलो चोट भने नरहेको बताएका छन् ।

३७ वर्षीय मेलर टर्की फुटबलका उत्कृष्ट रेफ्रीमध्येका एक हुन् । फिफाका लागि अन्तर्राष्ट्रिय खेल खेलाएका उनी युइएफएका इलाइट रेफ्री लिस्टमा पनि छन् ।

 

प्रकाशित : 12 December, 2023

प्रतिक्रिया दिनुहोस्