बाँकेमा घरेलु हिंसामा परेको भन्दै ४० जना पुरुषले न्यायका लागि उजुरी
काठमाडौँ । मंसिर २६, बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको भन्दै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुरुषको तर्फबाट पनि हिंसामा परेको उजुरी आइरहेका छन् । तर पुरुषले दिने उजुरीको तुलनामा महिलाको सङ्ख्या अत्यधिक छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्कअनुसार बाँकेमा पछिल्लो तीन वर्षमा घरेलु हिंसाका दुई हजार सात सय ५० वटा उजुरी दर्ता भएका छन् ।
अधिकांश घटनामा महिला पीडित रहेका छन् । अहिले पुरुषले समेत आफूमाथि हिंसा भएको भन्दै उजुरी दिन थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा आव २०७७/७८ मा सात सय ३८, २०७८/७९ मा आठ सय ८९, २०७९/८० मा आठ सय ८५ र चालु आवको साउनदेखि अहिलेसम्म घरेलु हिंसामा परेको जनाउँदै तीन सय ३२ वटा उजुरी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले हिंसामा परेको भन्दै उजुरी दिने महिलामा बयान फिर्ता गरी उजुरी फिर्ता हुने प्रवृत्ति पनि देखिएको बताउनुभयो ।