धनगढीमा जग्गा प्लटिङसम्बन्धी नयाँ मापदण्ड लागू हुने
काठमाडौँ । मंसिर २७, धनगढीमा जग्गा प्लटिङसम्बन्धी नयाँ मापदण्ड लागू हुने भएको छ ।
धनगढी उपमहानगरपालिकाले जग्गा प्लटिङसम्बन्धी कार्यविधि २०८० ल्याएर सोमबारदेखि नयाँ मापदण्ड लागू गरेको हो ।
सहरी विकास तथा भवन निर्माण मापदण्ड, बस्ती विकास सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ५ को खण्ड ‘क’ अनुसार नयाँ कार्यविधि बनाएर लागू गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
उक्त कार्यविधि अनुसार अब जग्गाको प्लटिङ गर्दा सडकको चौडाइ कम्तिमा पनि १० मिटरको अनिवार्य हुनुपर्नेछ भने सो सडकमा कम्तिमा पनि १५ सेन्टिमिटर मोटाइको पानीपिच गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सडकको दुवैतर्फ पानी बग्ने गरी नगरले तोकेको मापदण्डअनुसार नाला निर्माण गरेको हुनुपर्ने कुरालाई समेत कार्यविधिले समेटेको छ ।
घडेरीको चौडाइ अर्थात् मोहडा न्यूनतम ८.५ मिटर, घडेरीको लम्बाइ न्यूनतम २० मिटर, घडेरीको प्लट रेसियो १ : २.३, घडेरीको क्षेत्रफल सहरी क्षेत्रमा कम्तिमा ७ धुर र कृषि क्षेत्रमा दुई कट्ठा र अन्य क्षेत्रको घडेरीको क्षेत्रफल न्यूनतम १० धुर हुनुपर्नेछ ।
हमालले प्राकृतिक प्रकोप र विपद्को बेला उद्धार तथा अन्य व्यवस्थापनका लागि आवश्यक पर्ने भएकाले नयाँ प्लटिङमा गर्दा जम्मा जग्गाको ५ प्रतिशत क्षेत्रफल खुला छाड्नुपर्ने प्रावधान राखिएको पनि जानकारी दिए ।