संघीयता कार्यान्वयनका सन्दर्भमा हेटौंडामा मुख्यमन्त्रीहरुको भेला हुने

काठमाडौँ । मंसिर २७, संघीयता कार्यान्वयनका सन्दर्भमा संघ सरकारसँग छिनोफानो गर्न भन्दै हेटौंडामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक हुने भएको जानकारी प्राप्त भएको छ ।
आउँदो पुस १३ गते बागमती प्रदेशको राजधानी हेटौंडामा मुख्यमन्त्रीहरुको बैठक हुने भएको जनाएको हो ।
गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरुको अन्तर प्रदेश बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषदको बैठकमा भएका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।
संघीयता कार्यान्वयनका जटिलता फुकाउने भन्दै पोखरामा मुख्यमन्त्री पाण्डेको नेतृत्वमा भएको समन्वय परिषदको बैठकले मुख्य ६ वटा निर्णय गरेको थियो ।
विभिन्न समिति गठन गर्दै ६ महिनाभित्र संघीयताको गाँठो फुकाउने बैठकको निर्णय थियो । ६ महिनाको समयसीमा पुस १५ गते सकिँदै छ । त्यसको २ दिन अगाडि नै हेटौंडामा बैठक राखेर छिनोफानो गर्न लागेको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताए ।