राजसंस्था पुनर्स्थापनाका लागि बृहत मोर्चा बनाउन अध्यक्ष थापाको प्रस्ताव

काठमाडौँ । मंसिर २७, राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको अन्त्य र राजसंस्था तथा हिन्दुराष्ट्र पुनर्स्थापनाका लागि बृहत राष्ट्रिय मोर्चा बनाउने प्रस्ताव गरेका छन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समितिमा राजनीतिक प्रतिवेदन पेश गर्दै उनले अहिले संघीय गणतन्त्रको नाउँमा भ्रष्ट व्यवस्था कायम रहेकाले यसको अन्त चाहने, राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गर्न चाहने र सुशासनको माध्यमबाट आर्थिक समृद्धि चाहनेहरुबीच एकता, सहकार्य, कार्यगत एकताका साथै ‘वृहत राष्ट्रिय मोर्चा’ बनाउनु आबश्यक रहेको बताएका हुन् ।
मोर्चाको नेतृत्व कसले गर्ने भन्ने महत्वपूर्ण नहुने भन्दै थापाले व्यक्तिगत वा पार्टीगत स्वार्थ भन्दा माथि उठेर सामूहिक नेतृत्व र सबैको सहभागिताको आधारमा मोर्चाको निर्माण र कार्यान्वयन हुने बताएका छन् ।
थापाले ‘वृहत राष्ट्रिय मोर्चा’ निर्माणको निमित्त राप्रपा नेपालले सम्बद्ध सबै पक्षसँग तत्काल वार्ता आरम्भ गर्ने बताएका छन् । थापाले संघीय गणतान्त्रिक व्यवस्था परिवर्तनका लागि आन्दोलन पनि गर्ने बताएका छन् ।
अहिलेको व्यवस्था असफल भएकाले त्यसको विकल्पमा संवर्द्धनवाद उपयुक्त हुने भन्दै थापाले त्यसका लागि प्रमुख राजनीतिक दलसँग सहमति सहकार्य र सर्वपक्षीय सम्मेलनलाई विकल्पको रुपमा अघि सारेका छन् ।
तर अहिलेको राजनीतिक दलहरुले यो विकल्प नमान्ने भन्दै व्यवस्था परिवर्तनका लागि आन्दोलन नै अन्तिम विकल्प भएको जिकिर गरेका छन् ।
‘उनीहरुले भ्रष्टाचार गरेर आर्जन गरेको अकुत सम्पति र राज्यसंयन्त्र कब्जा गरेर तयार गरेको शक्तिको बलमा पटकपटक चुनाव जितेर आफ्नो वर्चस्व सुरक्षित गरी राख्ने ‘चक्रव्युह’ खडा गरेका छन् ।
सामान्य तरिकाबाट वा विद्यमान ‘खेलको नियम’ परिवर्तन नगरी यो चक्रव्युह तोड्न सकिने अवस्था देखिन्न’ थापाले भनेका छन् । जनआन्दोलन पनि जनअभिमत व्यक्त गर्ने तथा जनचाहना अनुरुपको परिवर्तन संस्थागत गर्ने प्रभावकारी, सशक्त र वैध प्रक्रिया भएको उनले बताएका छन् ।
आन्दोलनको कार्यक्रम अन्तर्गत राप्रपा नेपालले मेची महाकाली जागरण यात्रा, युवदस्ताको तयारी, प्रत्येक अञ्चलमा सभा र प्रदर्शन, राजधानी केन्द्रित प्रदर्शन आदि गर्ने उल्लेख गरेको छ ।