आज नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देखिने

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २८, बिहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ ।

यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली आँखाले नै उल्का वर्षा देख्न सकिन्छ ।

खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् ।

अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । किनकि यो उल्का वर्षा विभिन्न रंगमा देखिने छ ।

आगोको गोलाजस्तो रंगीचंगी वस्तु आकाशबाट तलतिर खसिरहेको देखिने भएकाले यो रोचक खगोलीय घटना अवलोकनमा उत्सुकता बढेको छ ।

नेपालमा स्थानीय समयानुसार बिहीवार मध्यरातपछि उल्का वर्षा अवलोकन गर्न सकिन्छ ।

वाल्मीकि विद्यापीठमा ज्योतिषशास्त्रका प्राध्यापक डा. जयन्त आचार्यका अनुसार नेपालको जुनसुकै ठाउँबाट बिहीवार मध्यरातपछि बिहानीपख ३-४ बजेसम्म उल्का वर्षालाई अवलोकन गर्न सकिन्छ ।

वैज्ञानिकहरुका अनुसार जेमिनिड्स उल्का वर्षा हरेक वर्ष डिसेम्बर मध्यतिर हुन्छ । यस वर्ष यो २० डिसेम्बरसम्म हुनेछ ।

तर उत्कर्षमा पुग्ने बिहीबार र शुक्रबार हो । त्यसैले यसलाई अवलोकन गर्ने उपयुक्त दिन बिहीबारलाई लिइएको छ ।

नेपालसहित संसारका सबै भागबाट प्रत्येक घण्टा १०० देखि १२० वटासम्म जेमिनिड्स उल्का वर्षा देख्न सकिने बताइएको छ ।

पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ ।

जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा उल्कापात पनि भनिन्छ ।

 

 

प्रकाशित : 14 December, 2023

प्रतिक्रिया दिनुहोस्