आज असई थमन विक हत्या प्रकरणको मुद्दाको सुनुवाइ हुँदै

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २८, मधेश आन्दोलनको क्रममा महोत्तरीमा भएको सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा जिल्ला अदालत महोत्तरीको आज सुनुवाइ हुँदैछ ।

२५ भदौ २०७२ मा भएको असई विक हत्या प्रकरणमा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोसहित २८ जनाविरुद्ध २०७५ साल साउन २८ गते कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो ।

जिल्ला अदालत महोत्तरीको न्यायाधीश उद्धव प्रसाद भट्टराईको दुई नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुँदै छ । बहस अन्तिम चरणमा रहेकाले आजै मुद्दाको अन्तिम फैसला आउने सम्भावना रहेको जिल्ला अदालत महोत्तरीका सूचना अधिकारी महेन्द्र झाले बताए ।

सो मुद्दामा तीनजना पुर्पक्षका लागि थुनामा छन् भने चारजना तारेखमा रिहा भएका छन् ।

दुईजना तारेख गुजारेर बसेका छन् । एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो र मोहन ठाकुर तारिख गुजारेर बसेका छन् । उनीहरुसहित १९ जना फरार छन् ।

जिल्ला अदालत महोत्तरीका सूचना अधिकारी झाले दिएको जानकारी अनुसार सो मुद्दामा सन्दीप साह माझी, सन्जय कुमार साह र पवन कापर पुर्पक्षका लागि थुनामा छन् ।

त्यस्तै लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामाशंकर मिश्र, सुरेश पाण्डे र धर्मेन्द्र राय साधारण तारेखमा छुटेका छन् ।

मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते हेटौंडाबाट राष्ट्रसंघीय मिसनका लागि आवश्यक परीक्षा दिएर ड्युटीको लागि महोत्तरी आएका असई थमन विकमाथि महोत्तरीमा आन्दोलनकारीले आक्रमण गरेका थिए ।

घाइते विकको जलेश्वर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि जनकपुर ल्याउँदै गर्दा महोत्तरीको साविक अनैठा गाविसमा आन्दोलनकारीले एम्बुलेन्सबाट निकालेर कुटपिट गरेर हत्या गरेका थिए ।

 

प्रकाशित : 14 December, 2023

प्रतिक्रिया दिनुहोस्