बेपत्ता युवक खोज्न थुनिएको सेती नदीको बाँध खोलियो

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २८, बेपत्ता युवकको खोजीका लागि पोखरा महानगरपालिका-१६ मा थुनिएको सेती नदीको बाँध खोलिएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका तनहुँका १९ वर्षीय संगम मिश्र मंसिर २५ गतेदेखि सम्पर्कविहीन भएका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले युवकको खोजी गर्न सिँचाइ आयोजनाका लागि थुनिएको सेती नदीको बाँध खोलिएको बताए ।

बाँध साँझ ४ बजेसम्म खुला रहने जानकारी दिए । ‘अहिले उहाँको खोजी कार्य प्रहरीले गरिरहेको छ । साँझ ४ बजेसम्म बाँध खोल्ने भनेका छौं’, उनले भने ।

तनहुँका मिश्र बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको र त्यहींबाट सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । मिश्रसँगै आएका उनका बुवा औषधि लिन गएका बेला इमर्जेन्सी वार्डबाटै उनी सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

खोजतलास गर्दा मणिपाल नजिकैको सेती नदीमाथि रहेको झोलुंगे पुल परिसरमा उनले लगाएको कपडा र परिचय पत्र भेटिएकाले नदीमा हाम फालेको आशंकामा बाँध खोलिएको प्रहरीले जनाएको छ ।

बाँध खोल्दा नदीमा पानीको बहाव बढेकाले उक्त समयमा नदी वरिपरि काम गर्न र आवतजावतमा चनाखो हुन प्रहरीले सूचना जारी गरेको छ ।

प्रकाशित : 14 December, 2023

प्रतिक्रिया दिनुहोस्