बानेश्वरको आकाशे पुलमा लिफ्ट जोड्ने महानगरको प्रस्तावमा सडक विभागद्धारा आनाकानी

काठमाडौं । मंसिर २९, काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०र८१ को बजेटमा नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना अनुसार बजेट विनियोजन गर्यो ।
तर, सडक विभागले स्वीकृति दिन आनाकानी गर्दा सो योजना अझै अगाडि बढ्न सकेको छैन ।
महानगरले भदौ दोस्रो हप्तातिर विभागसँग नयाँ बानेश्वरमा रहेको आकाशे पुलमा लिफ्ट जडान गर्ने प्रस्ताव गरेको थियो । त्यसपछि तीन महिना बितिसक्दा पनि विभागले स्वीकृत नगरिदिंदा काममा अवरोध पुगेको महानगरको आरोप छ ।
महानगरका अनुसार करिब एक करोडको लगानीमा लिफ्ट जडान गरेर वृद्ध, अपाङ्गता भएका, गर्भवती महिला र भरिया लक्षित गरेर लिफ्ट जडानको योजना बनाइसकको छ ।
महानगरको योजना विभागका एक कर्मचारीका अनुसार दैनिक ५ सयभन्दा बढी लक्षित वर्गले प्रयोग गर्न सक्ने गरी आकाशे पुलको दुवैपट्टी लिफ्ट हाल्न लागिएको हो ।
बानेश्वरको आकाशे पुलमा लिफ्ट राखेर योजना पाइलटिङ गरेपछि महानगरका अन्य मुख्य चोकहरुमा पनि प्रणाली विस्तार गर्ने योजना महानगरको छ ।