अदालतमा खाँणले बुझाए ३० लाखको बैंक ग्यारेन्टी

काठमाडौं । मंसिर २९, बालकृष्ण खाँणले अदालतमा ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् ।
बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रबार धरौटी रकम जम्मा गर्न अदालत पुगेका हुन् । अदालतमा उनले धरौटी रकम अनुसारको बैंक ग्यारेन्टी बुझाएपनि तत्काल उनी छुट्ने छैनन् ।
उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपस्थित गराएपछि मात्र छाडिने केन्द्रीय कारागार स्रोतले बताएको छ ।
नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले लाखौं रुपैयाँ उठाएर ठगी गरेको थियो ।
भुटानी शरणार्थी समस्याबारे अध्ययन गर्न बनेको पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा कीर्ते गरेर खाँण गृहमन्त्री भएका बेला नेपाली युवालाई अमेरिका पठाउने प्रयास भएको अनुसन्धानबाट खुलेको थियो ।
त्यसपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो ।