नेपाली कांग्रेसका महासमिति बैठक चौथो पटक पनि सारियो

सहयात्रा टिभी

काठमाडौं । मंसिर २९, नेपाली कांग्रेसले महासमिति बैठक चौथो पटक पनि सारेको छ ।

 

आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक फागुन ७ देखि १० सम्म गर्ने निर्णय गरेको छ ।

त्यसअघि कांग्रेसले पुस १६ देखि १९ गतेका लागि महासमिति बैठक बोलाएको थियो । यही समयमा राष्ट्रिय सभा चुनाव पनि हुने भएकाले बैठक सार्ने निर्णय भएको नेता विमलेन्द्र निधिले बताए ।

महासमिति बैठक अघि पुस १२ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक पनि बोलाइएको छ । कांग्रेसको महासमिति बैठकको मिति सरेको यो चौथो पटक हो ।

यसअघि कांग्रेसले मंसिर १३ गतेदेखि १५ गतेसम्म महासमिति बैठक बस्ने निर्णय गरेको थियो ।

त्यो बैठक कांग्रेसले दुई साता पछि सारेर मंसिर २९ तथा पुस १ र २ गते गर्ने निर्णय गरेको थियो । त्यसपछि फेरि बैठक सारेर पुस १६ गतेदेखि १९ गतेका लागि तय गरिएको थियो ।

राष्ट्रिय सभा निर्वाचन र जाडो मौसमलाई कारण देखाउँदै कांग्रेसले चौथो पटक महासमिति बैठक सारेर फागुन ७ देखि १० सम्म गर्ने निर्णय लिएको छ ।

शुक्रबारको बैठकले राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने र उम्मेद्वारलाई दिने पत्रमा सभापति शेरबहादुर देउवाले हस्ताक्षर गर्ने निर्णय पनि बैठकले गरेको छ ।

दल दर्ता लगायतका कामका लागि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई अधिकार दिइएको नेता निधिले जानकारी दिए ।

 

प्रकाशित : 15 December, 2023

प्रतिक्रिया दिनुहोस्