सरकारले अर्को काण्ड गराउला कि भनेर डर लागिरहेको छ : गगन थापा

काठमाडौं । मंसिर ३०, नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्टक एक्सचेन्जमा सरकारले एउटा नयाँ काण्ड गराउला कि भनेर आफूलाई डर लागिरहेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै उनले यस्तो बताएका हुन् ।
नयाँ स्टक एक्सचेन्जको अनुमतिपत्र (लाइसेन्स) बाँड्ने निर्णय गरेर सरकारले अर्को भ्रष्टाचारको काण्ड घटाउन लागेको भन्दै महामन्त्री थापाले त्यसलाई रोक्न सरकारसँग माग गरेका छन् । उनी भन्छन्, ‘एकपछि अर्को काण्ड हामीले बेहोर्दै आएका छौं, फेरि अर्को नयाँ काण्ड सरकारले गराउला कि भनेर मलाई चाहिँ डर लागिरहेको छ ।’
‘सरकारले उपयुक्त अध्ययन बिना दीर्घकालीन महत्वका निर्णय लिनु भनेको पनि कुशासन हो । नयाँ स्टक एक्सचेन्जको अनुमति दिने प्रक्रियामा यस्तै भएको छ,’ कांग्रेस नेता थापा भन्छन्, ‘कुनैबेला सरकार आफैँले रोकेको स्टक एक्सचेन्जको अनुमति बाँड्ने निर्णय पुनः अर्को अध्ययन नगरी अगाडि बढाउन लागेको खबरहरू आएका छन्।’
महामन्त्री थापाले अगाडि भनेका छन्, ‘पुँजी बजारको अवस्था र आवश्यकताबारे थप अध्ययन भएर आवश्यकता पहिचान नभएसम्म यो अनुमति दिने प्रक्रिया रोकिनुपर्छ । सरकारले कुरा सुशासनका गर्ने, काम कुशासनका गर्ने गर्न मिल्दैन । हामीले यो कुरा प्रधानमन्त्रीज्यू लाई भेटेरै भनेका छौँ र सार्वजनिकरूपमा पनि खबरदारी गराउन चाहन्छौँ ।’
थापाले सरकारलाई चेतावनी दिँदै भनेका छन्, ‘सरकारबाट यो निर्णय भयो भने प्रतिरोध हुन्छ हुन्छ ।’