आज दिउँसो देशभरको मौसम कहाँ कस्तो ?

सहयात्रा टिभी

काठमाडौँ । पुस १, जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

विभागका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा भने हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, राति लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली हुनुका साथै बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागले देशभरको तापक्रम घट्ने क्रममा रहेकाले त्यसबाट हुन सक्ने असरबाट बच्न सबैमा अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ४८ मिनेट र सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।

प्रकाशित : 17 December, 2023

प्रतिक्रिया दिनुहोस्