भारतले प्याजको निर्यातमा प्रतिबन्ध गरेपछि चीनबाट हुन थाल्यो आयात
काठमाडौँ । पुस १, भारतले प्याजको निर्यातमा प्रतिबन्ध गरेपछि व्यापारीहरुले चीनबाट प्याज आयात सुरु गरेका छन् । नेपालमा प्याज आयातको मुख्य बजार भारतले २१ मंसिरदेखि प्याज निर्यातमा रोक लगाएको थियो ।
भारतबाट प्याज निर्यातमा रोक लागेपछि चीनबाट प्याजको आयात प्रक्रिया सुरु गरेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक बिक्रेता संघले जनाएको छ ।
संघका महासचिव प्रकाश गजुरेलले चीनको केरुङबाट नेपालका लागि आयात सुरु गरिएको र पहिलो खेपको १०० टन प्याज बाटोमा रहेको बताए ।
यता तातो पानी भन्सार कार्यालयले पनि चीनबाट नेपाललले प्याज आयात थालेको पुष्टि गरेको छ ।
तातापानी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दयनन्द केसीले आजै मात्रै प्याज बोकेको २ वटा कन्टेनर नेपालतर्फ प्रवेश गरेको बताए ।
चीनबाट प्याजको आयात सुरु हुने बित्तिक्कै अहिले बजारमा देखिएको प्याजको महँगी नियन्त्रण हुने व्यवसायीहरुको दाबी छ ।