एनसेलमा आफू र आफ्नो परिवारलाई जोड्नु झुटो भएको प्रधानमन्त्रीको दाबी

सहयात्रा टिभी

काठमाडौं । पुस ३, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताएका छन् ।

तर आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको प्रधानमन्त्रीको दाबी रहेको बताए ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको शेयर खरिदबारे छलफल गर्न मंगलबार प्रधानमन्त्री प्रचण्ड र सञ्चारमन्त्री रेखा शर्मालाई बोलाएको थियो ।

छलफलका क्रममा सांसदहरुले एनसेलको शेयर खरिद गरेका गैरआवासीय नेपाली सतीशलाल आचार्यसँगको सम्बन्ध तथा प्रधानमन्त्री र उनकी छोरी गंगा दाहालको संलग्नता छ भनेर सांसद अमरेशकुमार सिंहले गरेको दाबीबारे समेत प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले सतीशलालको नाम लिएनन्, तर शेयर खरिद बिक्री गर्नेहरुलाई चिनेको बताए । आफ्नी श्रीमती बिरामी भएका बेला सिंगापुर गएर उनीहरु कहाँ बसेको भन्दै उनले भने, ‘शेरबहादुर देउवा पनि बस्नुभएको छ, केपी ओली पनि बस्नुभएको छ । तर यसको अर्थ सिष्टमका विरुद्ध कोही जान्छ भन्न अनुहार हेरेर मानिँदैन । राष्ट्र र जनताको हित मुख्य हो ।’

अघिल्लो पटक एनसेलको सेयर खरिद बिक्री हुँदा मुद्दा लडेर कर तिराउने नेताहरुमध्ये आफू पनि एक भएको प्रचण्डले दाबी गरे । अहिले पनि जालझेलको प्रयास भएको भन्दै उनले हर हालतमा त्यसलाई रोक्ने बताए । त्यसका लागि आवश्यक परे कानुनी छिद्रहरु समेत टाल्ने उनले बताए ।

प्रधानमन्त्री प्रचण्डले एनसेलसँग आफू र आफ्नो परिवारलाई जोडेर गरेको प्रचार झुटो भएको समेत बताए । उनले अगाडि भने, ‘साँचो भएको भए म बाँच्न नसक्ने हुन्थ्यो । झुटो हो भन्ने थाहा भएकाले म ढुक्क छु ।’

आफ्नो परिवारको सदस्य घटेर तीन जना भएको भन्दै उनले अगाडि भने, ‘एउटी छोरी भरतपुरमा मेयर छ, उतै व्यस्त छे । एउटा छोरी छ, त्यो कस्ती छ, थाहा पाउनुभएकै छ ।’

आफ्नो स्वकीय सचिव समेत रहेकी छोरी गंगालाई जोडेर गरेको प्रचार झुटो भएको प्रचण्डले बताए । अहिलेको परिर्वतन उल्टाउन चाहने शक्तिहरुलाई प्रचण्डलाई ह्युमिलेट गरेर डिप्रेस  नगरेसम्म हुन्न भन्ने लागेको भन्दै उनले भने, ‘यो गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो ।’

प्रकाशित : 19 December, 2023

प्रतिक्रिया दिनुहोस्