मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु

सहयात्रा टिभी

काठमाडौं । पुस ४, मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु गरिएको छ ।

 

मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको हो ।

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बुधबारदेखि मेलम्ची नदीको पानी पथान्तरण गरी चाँडै काठमाडौं ल्याउने कार्ययोजनाका साथ निर्माण व्यवसायी परिचालन गरिएको जानकारी दिए ।

मंगलबार सचिव आचार्यको अध्यक्षतामा मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठक बसेको थियो ।

समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी २८ दिनभित्र पानी पथान्तरणको कार्य सम्पन्न गर्ने गरी निर्माण व्यवसायी सिनो हाइड्रोसँग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

बाढीले मेलम्ची खानेपानीको मुहान र पहुँच मार्गमा क्षति पुगेपछि मेलम्ची खानेपानीको आपूर्ति रोकिएको छ ।

मनसुन सुरु हुनुअघि मेलम्चीको सुरुङ बन्द गरेर पानी ल्याउन रोकिएको थियो । मनसुन सकिएको लामो समय हुँदा पनि मेलम्चीको पानी काठमाडौं ल्याइएको छैन ।

खानेपानीको अभाव झेल्दै आएका काठमाडौंवासीले उपत्यका संघर्ष समिति गठन गरी रित्ता गाग्रा र बाल्टीसहित २ पुसमा प्रदर्शनमा उत्रिएका थिए ।

 

प्रकाशित : 20 December, 2023

प्रतिक्रिया दिनुहोस्