वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि विकल्पमा माछा पोखरी निर्माण
काठमाडौं । पुस ४, नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यवर्ती क्षेत्रका बासिन्दा वन्यजन्तुले बाली नोक्सान गर्दा समस्यामा पर्ने गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा सधैँजसो वन्यजन्तुले बाली नोक्सान गर्न थालेपछि कतिपयले विकल्पमा माछा पोखरी निर्माण गर्न थालेका छन्।
माछापालन गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको कावासोती–७ का किसानले बताउनुभयो ।
वनको सीमासँग जोडिएका यहाँका बासिन्दाको प्रायः घरैपिच्छे माछापोखरी रहेको उहाँले बताउनुभयो । पहिले धानखेती लगाउँदै आउनुभएका यमबहादुर नेपालीले पनि पछि माछापोखरी खन्नुभएको छ ।
कावासोती नगरपालिकाले माछापालनमा मध्यवर्ती क्षेत्रका बासिन्दा आकर्षित भएसँगै वडाहरूलाई पकेट क्षेत्रका रुपमा घोषणा गरी अनुदान उपलब्ध गराउँदै आएको छ ।
कावासोती नगरपालिकाभित्रका वडा नम्बर ७ र १३ लाई माछा पकेट क्षेत्रका रुपमा विकास गर्दै अनुदान उपलब्ध गराउने गरेको कावासोती नगरपालिका कृषि विकास शाखाका प्रमुख शिवनारायण कुमालले बताउनुभयो ।