कोशीको सभामुख बन्न राप्रपाले दियो विष्टको नाम

काठमाडौं । पुस ४, कोशीमा सभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टलाई अघि सारेको छ ।
सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेको थियो । त्यसपछि विष्टले आफ्नो दलबाट सभामुख हुने सांसदको रुपमा विष्टको नाम दिएको हो ।
एक–दुई दिनभित्र औपचारिक निर्णय गर्ने तयारी भएको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए । राजनीतिमा नाटकीय परिवर्तन नभए विष्ट एक साताभित्र कोशीको सभामुख बन्नेछन् ।
तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनयता कोशी प्रदेश सभामुखविहीन छ । रिक्त रहेको सभामुख पदका लागि एक साताभित्र निर्वाचन गर्ने सत्ता गठबन्धन दलको तयारी छ ।
स्रोतका अनुसार सत्ता गठबन्धन दलका नेताले राप्रपा संसदीय दलका नेता भक्ति सिटौलालाई सभामुख बन्नका लागि प्रस्ताव गरेका थिए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक छ । वर्तमान सत्ता गठबन्धनसँग जम्मा ४७ सांसद छन् ।
सत्ता गठबन्धनकै दलबाट सभामुख चयन गर्दा सरकारलाई बहुमत नपुग्ने भएकाले रगठबन्धनले राप्रपालाई सभामुखको प्रस्ताव गरेको हो ।