स्थानीय कर नतिरेको ‘एमबीएस’ एक्स्पो, प्रधानमन्त्रीले उद्घाटन गर्दै

सहयात्रा टिभी

काठमाडौं । पुस ६, मोरङ व्यापार संघले आयोजना गर्ने ‘मोरङ व्यापार संघ एक्स्पो (एमबीएस एक्स्पो)२०२३’ को स्थानीय कर नतिरेको पाइएको छ ।

एक्स्पोको उद्घाटन आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् । एक्स्पो आयोजक समितिले स्थानीय सरकारलाई तिर्नुपर्ने मनोरञ्जन कर अहिलेसम्म तिरेको छैन ।

कोशी प्रदेश आर्थिक ऐन २०८० अनुसार महानगरपालिकामा महोत्सव आयोजना गर्दा प्रतिदिन पाँच हजार मनोरञ्जन कर अग्रिम बुझाउनु पर्छ ।

पुस ६ गतेदेखि १० गतेसम्म आयोजना हुने एक्स्पोको मनोरञ्जन कर तिर्न विराटनगर महानगरपालिकाले गत मंसिर २८ गते नै मोरङ व्यापार संघलाई लिखित पत्राचार गरेको थियो । त्यसपछि पटक पटक आग्रह गर्दा पनि मनोरञ्जन कर आयोजकले नतिरेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सरोज गौतमका अनुसार मेला महोत्सव आयोजना गर्दा मनोरञ्जन कर दैनिक पाँच हजार, प्रवेश टिकटको प्रति टिकट पाँच प्रतिशत र महोत्सव भित्र सञ्चालन हुने विभिन्न मनोरञ्जन कियाकलापमा विक्री हुने प्रति टिकट पाँच प्रतिशत कर तिर्नुपर्छ । एक्स्पोमा स्टल भाडामा लगाउँदा १० प्रतिशत बहाल कर पनि महानगरपालिकालाई बुझाउनुपर्छ ।

एक्स्पो आयोजकलाई पटक पटक आग्रह गर्दा पनि अग्रिम मनोरञ्जनकर दाखिला नगरेको उनले जानकारी दिए ।

एक्स्पो आयोजक समिति संयोजक अनिलकुमार शाहले कर तिर्ने बताए । मनोरञ्जन करको विषयमा भने उनले जतिको बिल बनाउँछन् त्यती नै तिरिदिने बताए ।

प्रकाशित : 22 December, 2023

प्रतिक्रिया दिनुहोस्