अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिन मोर्चाको सुझाव

काठमाडौँ । पुस ११, समाजवादी मोर्चाले अध्यादेश ल्याएर भए पनि प्रदेशलाई अधिकार दिनुपर्ने सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
आज बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले प्रधानमन्त्री प्रचण्डलाई यस्तो सुझाव दिएको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्रप्रसाद श्रेष्ठले भन्नुभयो, ‘प्रदेशलाई दिनुपर्ने अधिकार नदिँदा प्रदेश बोझ हो कि भन्ने सन्देश प्रवाह भइरहेको कुरा बैठकमा उठेको छ ।
यसलाई कार्यान्वयन गर्न पनि समाजवादी मोर्चाले सल्लाह गरेको छ । अध्यादेश नै ल्याएर भए पनि यो कार्यान्वयन गर्नुपर्छ भन्ने हामीले सुझाव दिएका छौँ ।’
बैठकले अहिलेसम्म भएका कामहरूको समीक्षा गरेको र मोर्चाका कामको बारेमा जानकारी गराएको बताउनुभयो ।