युवाहरूका लागि स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिन निर्देशन

काठमाडौँ । पुस १२, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहरूका लागि स्टार्टअप बिजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन् ।
बिहीबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले नवप्रवर्तनशील सोच र जोश भएका नवयुवाहरूमा उद्यमशीलता प्रवर्धन गर्न सातै प्रदेश केन्द्रित व्यवसाय प्रवर्धन अभियान सञ्चालनको तयारी गर्न उनले निर्देशन दिए ।
स्टार्टअप फण्डको समेत परिचालन गरी वर्षेनी कम्तीमा २० हजार युवाहरूको नवीनतम सोचलाई वस्तु र सेवा उत्पादनमा जोड्ने तथा स्वरोजगारी, स्टार्टअप र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापनका लागि ‘जबमिटर’ को व्यवस्था गर्न विशेष योजना तयार गर्न समेत उनले निर्देशन दिएका छन् ।
प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका कूटनीतिक निकायलाई उद्योग तथा वाणिज्य प्रवर्धनमा केन्द्रित गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आवश्यक योजना, संयन्त्र र कार्यक्रम बनाएर अगाडि बढ्न निर्देशन दिए ।