सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाइ

सहयात्रा टिभी

काठमाडौं । पुस १३, क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा शुक्रबार सुनुवाइ हुने भएको हो ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । लामिछानेले विदेशका प्रतियोगितामा भाग लिन जान अनुमतिसमेत पाएका छन् ।

उनीविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा लगातार तीन दिन यता सुनुवाइ भइरहेको छ । प्रतिवादीतर्फबाट बहस सकिए मुद्दाको फैसला आजै हुनेछ ।

२०७९ भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए । सोही वर्षको कात्तिक १५ गते मुद्दा दर्ता भएकामा काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

जिल्लाको सो आदेशविरुद्ध पाटन उच्च अदालत पुगेका सन्दीपलाई उच्च अदालतले २०७९ पुस १८ गते देशबाहिर जान नपाउने सर्तसहित २० लाख धरौटीमा रिहा गरेको थियो । उच्च अदालतको उक्त आदेशविरुद्ध महान्यायाधिवक्तको कार्यालय र सन्दीप लामिछाने दुवै सर्वोच्च पुगेका थिए ।

२०७९ कात्तिक १५ गतेदेखि काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दामा पटक-पटक पेसी तोकिए पनि अहिलेसम्म फैसला हुन सकेको छैन ।

प्रकाशित : 29 December, 2023

प्रतिक्रिया दिनुहोस्